'फलित ज्योतिष : एक ठग विद्या'

ज्योतिषशास्त्रको कुनै वैज्ञानिक आधार छ कि छैन? भए ती आधार के के हुन्? ज्योतिषशास्त्र र सबै प्रकारका काला जादूटुनाबीच समानता र भिन्नता के कस्तो छ? ज्योतिषशास्त्र कुनै वैज्ञानिक विद्या हो कि ठग विद्यामात्रै हो? आजसम्म कुनै खगोलविद्ले फलित ज्योतिषशास्त्रको वैज्ञानिक आधारको पुष्टि किन गर्न नसकेका होलान्?
 यस्तो तथाकथित विज्ञान ग्रह र नक्षत्र (तारा)ले मानिसको भाग्यलाई, मानवीय र प्राकृतिक घटनालाई समेत प्रभावित गर्दछन् भन्ने मान्यतामा आधारित छ। विज्ञानको विद्यार्थी रहेकाले तथाकथित विज्ञान ज्योतिषशास्त्रअनुसार ती ग्रह र नक्षत्रले कसरी प्रभाव पार्दारहेछन्, आफूले खोज्नु र जनतालाई बताउनु जरुरी छ। भारतीय विद्वान् गिरीश मिश्रले 'ज्योतिष विद्या और भारत का भविष्य' मा प्रश्न गरेका छन्, पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह शुक्र पनि चार करोड चार लाख किलोमिटरको औसत दूरीमा छ। त्यस ग्रहले मानिसको जीवनमा कसरी प्रभाव पार्छ? पार्छ नै भने पनि त्यो प्रभाव सबै मानिसमा समान असरका रूपमा किन देखिँदैन? किन शनि एक व्यक्तिका लागि अनुकूल हुन्छ भने अर्काे व्यक्तिका लागि प्रतिकूल हुन्छ? फेरि थोरै मात्र ग्रह र तारा मात्रै आफ्ना प्रभाव फैलाउन कसरी सक्षम हुन्छन्? किनभने ब्रम्हाण्डमा त अनेकौँ आकाशगंगा छन्, ती आकाशगंगामा खर्बाँैको संख्यामा हाम्रो सूर्यजस्ता तारा छन्?
'फलित ज्योतिष : एक ठग विद्या' लेख्ने गुणाकर मुलेजस्ता विद्वान्का रचना अध्ययन गर्न सक्छन्। ज्योतिषी कृष्णदास महाराजहरूको संगत गर्दै हिँड्नुको सट्टा गुणाकर मुलेका किताब पढियो भने उनलाई पनि लाग्नेछ - फलित ज्योतिष विज्ञानसम्मत छैन। जन्मकुण्डली बनाइँदा स्थापित गरिने ब्रम्हाण्डलाई १२ स्थानमा बाँड्ने गरिन्छ, जसमा सूर्यको हैसियत ग्रहको होइन, नक्षत्र (तारा) मात्र सीमित रहेको छ। चन्द्रमालाई ग्रह भनिए पनि वास्तवमा यो पृथ्वीको उपग्रह मात्रै हो। राहु र केतु त भौतिक पिण्ड पनि होइनन्, ती त पृथ्वी र चन्द्रमाको भ्रमणमार्गका दुई छेदन विन्दु मात्रै हुन्। अतः प्रश्न उठ्छ, यस्ता द्रव्यरहित विन्दुले पनि मानव-जीवनमाथि कुनै प्रभाव पार्न सक्छन्?
गुणाकर मुलेका अनुसार, फलित ज्योतिषमा ग्रहनक्षत्रहरूको भौतिक परिस्थितिमाथि कुनै विचार गरिँदैन, गर्ने वैज्ञानिक विधि पनि छैन। त्यसैले एकातिर, फलित ज्योतिषीहरू चन्द्रमालाई पानीले भरिएको (जलमय) ग्रह मान्दै आएका छन्, तर वैज्ञानिक अध्ययनले देखाएको छ, चन्द्रमामा न त पानी छ, न त हावा नै! अर्काेतिर, उनीहरूले मंगल र शनि ग्रहलाई भने अज्ञानका कारण बेकारमै अशुभ ठहर्‍याउँदै आएका छन्। उनीहरूलाई थाहा नभएको वास्तविकता के हो भने मंगल रातो रंग भएको सुन्दर ग्रह हो र शनि पनि चारैतिर मनोहर घेरा भएको ग्रह हो। यस्तो वास्तविकताबारे अध्ययन गर्ने क्षमता नै नभएको फलित ज्योतिषमा हाम्रै सौर्यमण्डलका सबै ग्रह, तारा र पिण्डको 'प्रभाव'माथि कुनै विचार गरिएको छैन भने अनगिन्ती पिण्डका बारेमा अध्ययन र खोज अकल्पनीय नै हुन्छ। फलित ज्योतिषमा गुरुत्वाकर्षण र विद्युत् चुम्बकीय प्रभावसँग सम्बन्धित गणनाका लागि पनि कुनै स्थान छैन।
:-राजेन्द्र महर्जन

Comments

Popular posts from this blog

Vedic Astrology of Prince William and Kate Wedding