Wednesday, November 4, 2009

पानीमाथि राजनीति



विश्वमा पानीको हाहाकार मच्चिन थालिसकेको छ । काठमाडौँ उपत्यकामा त पानीकोसमस्या ज्युँको त्युँ छ । विश्वकै दोस्रो ठूलो जलस्रोतको राष्ट्र भनेर पढाइएको राष्ट्रमा त खानेपानीको यस्तो समस्या छ । उचित सिंचाइको व्यवस्था नभएर हजारौँ हेक्टर जग्गाजमिन सुख्खा रहिरहन्छन् र हामीले आलुदेखि प्याजसम्म विदेशबाट आयात गरेर दसैँ- तिहार मनाउने गर्दछौँ भने अन्य मुलुकहरू जहाँ प्राकृतिकरूपमा नै जलस्रोतको अवस्था त्यति मजबुत छैन भने त्यसको हालत के होला - सबैले सजिलै अनुमान लगाउन सक्दछन् । उता वायुमण्डलीय उष्णताको कारण हिमालमा हिउँ पग्लिएर हिमालहरू सुख्खा पहाडमा परिणत हुने क्रम बढ्दो छ । यसतर्फहामी सबैको ध्यान जानु आवश्यक छ । किनकि पानीबिना जीवनको परिकल्पना पनि सम्भव छैन ।अमेरिकाले हालसालै पानीको खोजीको लागि चन्द्रमामा अभियान चलाएको छ । यो अभियानले सफलता पाउला, नपाउला त्यो आफ्नो ठाउमा छँदैछ । के चन्द्रमामा पानी भेटिए त्यो अमेरिकाको सम्पत्ति हुन्छ या पूरा मानव जातिको यो छलफलको विषय हुनुपर्दछ । पानी कसैको पेवा, व्यक्तिगत सम्पत्ति हुनुहुँदैन । जसरी जमिन जङ्गल पेवा, व्यक्तिगत सम्पत्तिमा दर्ता गराइन्छ । तर, पानी त्यसरी व्यक्तिगत सम्पत्तिमा दर्ता गर्ने हो भने यसले मानव जातिमाथि प्रकृतिले दिएको उपहारको उपहास हुनेछ । पानी सबैको साझा हो, साझा हुनुपर्दछ र यसलाई व्यक्तिगत सम्पत्तिको रूपमा प्रयोग गर्नु र स्वीकार गर्नु हुँदैन ।

No comments:

Post a Comment

Google Search