Saturday, September 19, 2009

दसैँको साइत

आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म मनाइने बडादसैँको पहिलो दिन शनिबार दसैँघर र पूजा कोठामा विधिवत् घटस्थापना गरिँदै छ । दियो, कलश र गणेशको पूजासहित माटोको घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिन्छ ।
घटस्थापनादेखि नवमीसम्म विभिन्न शक्तिपीठ दसैँघर वा पूजा कोठामा सप्तशती चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ ।
आज 09.25 बजे बिहान घटस्थापना,फूलपातीका दिन बिहान ८ः१७ बजे तुलजा भवानीको यात्रा तथा ८ः५९ बजे थिराशनका लागि र टीकाका दिन मध्याहृन १२ः२१ बजे तुलजा भवानीको यात्रा र दिउँसो १ः०५ बजे थिराशनका लागि साइत जुरेको छ ।
परम्परा अनुसार विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ । यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगनलाई लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्व अर्न्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
बडादसैँको सातौँ दिन धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिर्माका दिन जमरा विर्सजन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ । स चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित रहेको जनाइएको छ ।

No comments:

Post a Comment

Google Search