प्राचीन समयदेखि नै संसारभर रत्नको र्सवाधिक महत्त्वपूर्ण स्थान रहँदै आएको छ । रत्नको महत्त्व दर्शाउने विभिन्न विधि एवम् परम्पराको वर्तमान स्वरुप भनेको यसको माग, उच्च मूल्य र इज्जतको
प्रतीककात्मक चिह्नका रुपमा लिइने सामाजिक स्वीकार्यता नै हो ।
वैदिककालदेखि नै रत्नको महत्त्वको चर्चा रहँदै आएको र पौराणिक कालमा रत्नको अर्थ र महत्त्व अझ व्यापक रहेको पाइन्छ । देवता र दानवहरु मिलेर समुद्र मन्थन गर्दा चौधओटारत्नहरुको प्राप्ति भएको एवम् ती अधिकांश रत्नहरुको सम्बन्ध पृथ्वीसँग रहेको प्रतिकात्मक सङ्केत हिन्दू धार्मिक ग्रन्थहरुमा पाइन्छ भने अन्य धर्ममा पनि दुर्लभ रत्नहरुको विशेषतालाई स्वीकारिएको पाइन्छ । हिन्दू धार्मिक मान्यतानुसार र्स्वर्ग, मर्त्यलोक र पातालमा भिन्ना भिन्नै मूल्य, मान्यता र विश्वासका आधारमा रत्नहरुको परिभाषा गरिएको छ । सामान्यतया र्स्वर्गमा चार प्रकारको विशेष रत्नहरु रहेको चर्चा गरिन्छ।
१. चिन्तामणि
यो सृष्टिकर्ता ब्रम्हाजीले आफ्नो गलामा धारण गरेको सफेद, सुन्दर अकल्पनीय मणिको नाम हो । यो मणि धारण गर्नाले ब्रम्हाजीलाई जे सोच्यो त्यो कार्य तत्काल गर्न सक्ने क्षमता प्राप्त भएको विश्वास गरिन्छ । त्यसैले चिन्तामणि पाइने ठाउँ ब्रम्हलोकलाई मानिएको हो ।
२. कौस्तुभमणि
यो सुन्दर फूलको रङको आकर्ष र देदिव्यमान चमक भएको समुद्रबाट लक्ष्मीसँगै प्रकट भएको विशिष्ट रत्न हो । यो दुर्लभ रत्न सृष्टिका पालनकर्ता भगवान् श्री विष्णुले धारण गरेको छ भन्ने पौराणिक कथन छ । त्यसैले कौस्तुभमणि र यस्ता चमकदार मणिहरुको प्राप्तिस्थान वैकुण्ठ र समुद्र किनारलाई मानिएको छ ।
३. रुद्रमणि
यो सुनौलो वर्णको सुर्यको किरणजस्तै चमकदार र तीन रेखायुक्त मणिको रक्षा र धारण भगवान् श्री महादेवबाट भएको मानिन्छ यसैका आधारमा रुद्रमणिको प्राप्तिस्थान हिमच्छादित कैलाश क्षेत्र मानिएको छ ।
४. स्यामन्तकमणि
इन्द्रधनुषको जस्तो विचित्रको चमक भएको यो दुर्लभ र बहुरङ्गी रत्न श्री सुर्यले धारण गर्ने हुनाले पृथ्वीमा उपलब्ध नहुने तर सप्तरङ्गी इन्द्रेणीका रुपमा आभाष र अवलोकन गर्न पाइने पौराणिक आख्यान रहेको पाइन्छ ।
पौराणिक कथनअनुसार पाताल लोकमा रत्नको सङ्ग्रह नागहरुको अधिनमा रहेको भनाई छ । त्यसैले कालो, नीलो, हरियो, सेतो, रातो, गुलावी, दूधिया, पहेँलो र माटोको रङसँग मिल्ने रङको नौ थरीनागमणिहरु पातालमा उपलब्ध छन् र यी रत्न वा मणिहरु कहिलेकाहीँ संयोगले मात्र पृथ्वीमा प्राप्त हुनसक्ने विश्वास गरिन्छ । पृथ्वीमा पाइने रत्नका बारेमा अत्यन्त रोचक पौराणिक कथा र लोकोक्तिहरु पाइन्छन् । सामान्यतयाः संसारभर नै रत्नको उपयोगिता, तान्त्रिक, आध्यात्मिक एवम् सामाजिक महत्त्व र आर्थिक मूल्यको कारणले लोकप्रियता बढ्दै गएको छ । एउटा पौराणिक कथनअनुसार बली राजाको समयदेखि पृथ्वीमा २१ थरी रत्न र ८४ प्रकारका मणिहरुको पहिचान भएको थियो । यसको उत्पत्तिको कथा पनि यसको उपयोगिता र रङसँग जोडेर व्याख्या गरिएको पाइन्छ । जस्तै, दैत्यको रगतबाट माणिक उत्पन्न भयो भने मनबाट मोती, टाउकोको गाढा रगतबाट मुगा, पित्तबाट पन्ना, मांसबाट पुष्पराज, टाउकोको शिखाप्रदेशबाट हीरा, आँखाबाट नीलम, यज्ञोपवितबाट लहसुनिया, नसाबाट फिरोजा, आँखाको चमकबाट चन्द्रकान्तमणि, छालाबाट तेलमणि, पसिनाबाट स्फटिक र कपालबाट लाजावर्तक उत्पन्न भएको मानिन्छ । त्यसैले मानव शरीरको पीडा कम गर्न ती स्थानबाट उत्पन्न सम्बन्धित मणिहरुको उपयोग गर्न सकिन्छ भन्ने मान्यता रहँदै आएको छ ।
मुगा Coral
मुगा मङ्गलको सद्गुण वृद्धि गरी पुरुषार्थ र नेतृत्व बढाउने रत्न हो । यसको प्रयोग गर्नाले मङ्गल खराब स्थानमा र अस्त वा नीच राशिमा भएको अवस्थामा जन्मेकाहरुका लागि भाग्यवृद्धिमा सहायक हुन्छ । कम्तिमा छ क्यारेट मुगा सुन वा तामामा जडान गरेर मङ्गलबारमा धारण गर्न सकिन्छ । मुगासँग हीरा र नीलम साथसाथै धारण गर्नु हुँदैन ।
पन्ना Emarald
पन्ना बुधको सद्गुण वृद्धि गरी बौद्धिक एवम् व्यापारिक क्षमता र नेतृत्व बढाउने रत्न हो । यसको प्रयोग गर्नाले बुध खराब स्थानमा र अस्त वा नीच राशिमा भएको अवस्थामा जन्मनेहरुकालागि भाग्यवृद्धिमा सहायक सिद्ध हुन्छ । कम्तिमा चार क्यारेट पन्ना सुनमा जडान गरेर बुधबारदेखि धारण गर्नु उपयुक्त हुन्छ ।
पुखराज Yellow Sapphire
पुखराज बृहस्पतिको सद्गुण वृद्धि गरी बौद्धिक एवम् प्राज्ञिकक्षमता र नेतृत्व बढाउने रत्न हो ।यसको प्रयोगले बृहस्पति खराब स्थानमा, अस्त वा नीच राशिमा जन्मनेहरुका लागि भाग्यवृद्धिमा सहायक सिद्ध हुन्छ । कम्तिमा चार क्यारेट पुखराज सुनमा जडान गरेर बिहीबारदेखि धारण गर्नु उपयुक्त हुन्छ ।
हीरा Diamond
हीरा शुक्रको सद्गुण वृद्धि गरी वौद्धिक, साङ्गीतिक, साहित्यक, सृङ्गारपरक क्षमता र ख्याति बढाउने रत्न हो । यसको प्रयोग गर्नाले शुक्र खराब स्थानमा, अस्त वा नीच राशिमा जन्मनेहरुका लागि भाग्यवृद्धिमा सहायक सिद्ध हुन्छ । कम्तिमा १/४ क्यारेट हीरा प्लाटिनम वा सुनमा जडान गरेर शुक्रबारदेखि धारण गर्नु उपयुक्त हुन्छ । यसलाई मोति, माणिक र पुखराजसँग साथसाथै धारण गर्नु हुँदैन । हीराको अभावमा सेतो पुखराजको प्रयोग गर्न सकिन्छ ।
नीलम Blue Sapphire
नीलम शनिको गुण वृद्धि गरी शारीरिक क्षमता र नेतृत्व रत्न हो । यसको धारण गर्नाले शनि खराब स्थानमा, अस्त वा नीच राशिमा जन्मनेहरुका लागि भाग्यवृद्धिमा सहायक सिद्ध हुन्छ । कम्तिमा ४ क्यारेट नीलम पञ्चधातु वा फलाममा जडान गरेर शनिबारदेखि धारण गर्नु उपयुक्त हुन्छ । यसलाई मोति, मुगा, माणिक र पुखराजसँग साथसाथै धारण गर्नु हुँदैन ।
गोमेद Gomed
गोमेद राहुको गुण वृद्धि गरी शारीरिक र मानसिक क्षमता एवम् नेतृत्व रत्न हो । यसको धारण गर्नाले राहु खराब स्थानमा, अस्त वा नीच राशिमा भएको अवस्थामा तथा खराब फलदायी कालर्सपयोगमा जन्मनेहरुका लागि भाग्यवृद्धिमा सहायक सिद्ध हुन्छ । कम्तिमा ६ क्यारेट गोमेद फलाममा जडान गरेर शनिबारदेखि धारण गर्नु उपयुक्त हुन्छ । यसलाई मोति, मुगा, माणिक र पुखराजसँग साथसाथै धारण गर्नु हुँदैन ।
No comments:
Post a Comment