Wednesday, September 1, 2010

कृष्ण जन्माष्टमी पर्व

आज  २०६७ साल भाद्र १६ गते बुधवार भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्व नेपालभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी मनाइरहेका छन् । आजको दिन बिहानै उपत्यकाको पाटन स्थित कृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड हुने गर्दछ। उपत्यका बाहिर , बुट्वल, नरायणगढ, नेपालगन्ज ,भैरहवा, बिराटनगर, वीरगंजमा पनि आजको दिन बिशेषरुपले श्री कृष्णाष्टमी पर्व मनाइने गरिन्छ। आजको दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । आज दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् ।
भगवान् श्रीकृष्णको द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जन्म भएको थियो । उहाँ जन्मनुभएको रातलाई मोहरात्रि पनि भनिन्छ । हिन्दु दर्शनमा कालरात्रि भनी महाष्टमीको रात सुख रात्रि भनी लक्ष्मीपूजाका रात र मोहरात्रि भनी भाद्र कृष्ण अष्टमीका रातलाई महत्वका साथ लिइन्छ । कृष्णले आफ्नै दुष्ट मामा कंसको बध गरेका कारण कृष्णाजन्माष्टमीलाई असत्यमाथि सत्यको जीतको रुपमा पनि लिइन्छ ।
भगवान् श्रीकृष्णको बाल लिला, किशोर अवस्थाका उपद्रव लिला, तन्नेरी बेलाको रसमय लिला, गृहस्थ समयको कर्म लिला, अधबैंशे समयको कूटनीतिक लिला र वानप्रस्थ बेलाको वैराग्य लिलालाई धर्म दर्शनमा महत्वपूर्ण लिलाका रूपमा लिइन्छ । जब जब यो संसारमा पाप र पापीलाई नष्ट गरी धर्म स्थापना गर्नुपर्ने हुन्छ तब तब मैले जन्म लिनेछु भन्ने प्रतिबद्धता भगवान् श्रीकृष्णको छ ।

No comments:

Post a Comment

Google Search